२२ साउन, सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन् । साथै उनले अब प्रतियोगिताको मिति तोक्दा नसर्ने गरी तोक्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आग्रह गरेका छन् ।

दशौँ राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहीबार सुर्खेत पुगेका मन्त्री चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोकेर प्रतियोगिता नहुँदा नकारात्मक सन्देश प्रवाह भएको बताए । अब त्यस्तो गल्ती नदोहोर्‍याउन समेत सघीय सरकारलाई उनको आग्रह छ ।

प्रतियोगिता आयोजना गर्ने नाममा यसअघि भएका कमजोरी दोहरिन नदिनेतर्फ अहिलेदेखि नै सचेत हुनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड छ ।

‘यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने तर्फ सचेत रहनुहोला,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासोसहित केहिदिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्रीलाई उनले सुझाव दिए ।

‘केही दिन अघि तपाईँहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरी काम गर्नुस् भनेर निर्देशन दिनु भएको रहेछ, हाम्रो स्प्रिरिट पनि त्यही हो,’ मुख्यमन्त्री कँडेलले भने ।

फरक प्रसङ्गमा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषद्का रिक्त पदहरूमा नियुक्त गर्न छलफल शुरू भएको जानकारी दिए ।

रङ्गशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने समेत मुख्यमन्त्री कँडेलले प्रतिबद्धता जनाए ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक संघीय सरकारले नै निर्माण गर्ने भए पनि दशौँ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माण गरेको मुख्यमन्त्री कँडेलले बताए ।

युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरी तयारी भइरहेकोले त्यसमा ढुक्क हुन उनको आग्रह छ ।

सुर्खेत आसपास हुने गरी प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको जानकारी दिए ।

छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, सामाजिकमन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो ।

One thought on “खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको आग्रह : फेरि नसर्ने गरी दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुस्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *