बागलुङको हनुमान जात्रा, बझाङको विरीजात मेला, जुम्लास्थित चन्दननाथ मन्दिरको ५२ हाते लिंगो ठड्याउने जात्रा र पाल्पाको  भगवती जात्राका अनेक किंवदन्ती छन्, यी जात्रा–मेलाले समाज र संस्कृतिलाई जीवन्त राखेका छन् ।

बझाङ/बागलुङ/जुम्ला/पाल्पा — बझाङका १८ वर्षीय सविन बोहराले साउन ८ देखि एक छाक मात्रै खान थालेका छन् । औंसीको अघिल्लो दिन नै कपाल खौरिएका उनले त्यस यता माछामासु खानु त परै जाओस्, खुट्टामा जुत्ताचप्पल पनि लगाएका छैनन् । घर छोडेर गाउँमै रहेको देवघरमा सुत्दै आएका उनी दैनिक तीन/चार किलोमिटर खाली खुट्टा हिँडिरहेका छन् । उनले कुनै स्वास्थ्य समस्या भएर वा जुठो परेका कारण यो सबै कर्म गरेका भने हैनन् । उनी त जनैपूर्णिमाका दिन बझाङको सुर्मा सरोवरमा लाग्ने विरीजात मेलामा जानका लागि तयारी गरिरहेका हुन् । 

दार्चुलाको अपी हिमाल गाउँपालिका–४, चौबिसेन गाउँका अरू चार जना पनि यही नियम पालना गर्दै सविनसँगै बसेका छन् । गाउँमा उनीहरूले ‘बालावीरे’ को उपाधि पाएका छन् । पहिलो पटक सुर्मा मेलामा जानेहरूलाई बालावीरे भनिन्छ । उनीहरू गाउँबाट मेला भर्न जानेहरूको नेतृत्व गर्दै अघिअघि हिँड्नुपर्छ भने यस अघि पनि सुर्मा सरोवर पुगिसकेका ‘बुढावीरे’ को लस्कर बालावीरेको पछिपछि हिँड्छ ।

यता बझाङका घरघरमा पनि यस्तै तयारी हुँदै छ । विरीजात मेलामा जानेहरू औंसीको दिनदेखि नै चोखो बसेका छन् । उनीहरू खाली खुट्टा हिँडेर जनैपूर्णिमाका दिन दुस्कर हिमाली बाटो र सुन्दर पाटनहरू छिचोल्दै समुद्र सतहदेखि ४ हजार ३ सय ३३ मिटर उचाइको सुर्मा सरोवर पुग्नेछन् । बझाङ जिल्लामा लाग्ने सबैभन्दा ठूलो र कठोर नियम भएको यस मेलामा पहिलो पटक जान लागेकाहरूका मनमा भने डरभन्दा बढी उत्साह छ । सविन भन्छन्, ‘फोटो र भिडियोमा हेर्दै आएको हो, यस पटक आफैं जान पाउने भएपछि खुसी लागेको छ ।’ गाउँका सबैले गर्दै आएको यो यात्रा आफूले पनि सहजै गर्नेमा उनी ढुक्क देखिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *