२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारत बाहेक देशबाट सेवा आयात गर्दा प्रतिपटक विदेशी मुद्रा सटही सुविधा वृद्धि गरेको छ । केन्द्रीय बैंकले यसभन्दा अघि ५ हजार अमेरिकी डलर रहेको परिवर्त्य विदेशी मुद्रा सटही सुविधा ८ हजार डलर बराबर बनाएको हो ।
केन्द्रीय बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भारत बाहेक देशबाट सेवा आयात गर्न ८ हजार डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था गरेको हो ।
यसअघि भारत बाहेक देशबाट सेवा आयात गर्न ५ हजार डलरसम्मको मात्र परिवर्त्य विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था थियो ।
त्यसैगरी केन्द्रीय बैंकले नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक ८ हजार डलरभन्दा बढीको विदेशी विनिमयमा दायित्व सिर्जना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नुपरे वा सेवाबापत भुक्तानी गर्नुपर्ने भए आफ्नो नियामक निकायबाट स्वीकृति पाएको हुनुपर्छ । यसअघि यस्तो सटही सुविधा ५ हजार डलर बराबर थियो ।
