विराटनगर। नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमालेको काठमाडौँमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ। आज ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल भृकुटी मण्डपमा बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको हो।
कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज समेत रहनु भएको बस्नेतले पार्टी र राजनीतिमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको महसुस गर्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनु भएको छ। उहाँले पार्टी एकता, युवा जागरण र राष्ट्रिय स्वाभिमानलाई अगाडि बढाउन आफ्नो उम्मेदारी रहेको प्रष्ट पार्नु भयो।
लामो समय देखि एमालेको राजनीतिमा सक्रिय बस्नेतले युवा संघ नेपालको मोरङ उपसचिवदेखि उपाध्यक्ष, युथ फोर्स मोरङका प्रमुख, युवा संघ नेपालको केन्द्रीय सचिव, कोशी अञ्चल सहसंयोजक, उपाध्यक्ष, एमाले मोरङको सचिवालय सदस्यसम्मको जिम्मेवारी पूरा गरिसक्नु भएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका संस्थापक सदस्य समेत रहनु भएको बस्नेतले आफ्नो कार्यकालमा खेलकुद गतिविधिलाई थप गतिशील बनाउन सफल हुनु भएको थियो।
लामो समय देखि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेको बस्नेतले ११औँ राष्ट्रिय महाधिवेशनमा ओली समूहबाट उम्मेदवारी दर्ता गराउनु भएको हो।
